a FAITH, fading but still deepening.........

नेपाली.....


त्यहाँ पर आज धेरै नै भीडभाड छ जस्तो छ । खै त्यस्तो सानो ठाउँमा पनि के को भीडभाड हो कुन्नी ? हुन त घर अच्चम्मको नै थियो , दुई दुईवटा ठूला–ठूला घरकोबीचमा रहेको थियो, मानौ कुनै फलफुल भित्रको बियाँ होस् । जस्तो सुकैहोस् अनौठो कुरा त्यहाँ भीडभाड थियो । हुन त साच्चैँ नै भन्ने हो भने भीड सल्बलाउन थालेको अलिक दिन नै भएको थियो । तै पनि आज त अचाक्लि नै पो छ त त्यहाँ । 
कौतुहलताले गर्दा म त्यहाँ पुग्छु । हेर्छु त सबै ठूला–ठूला मानिस पो छन् त त्यहाँ (सबै त्यही भनेर चिन्थे, ठूला मानिसहरु) । तर त्यही भीडमा एउटा मेल नखाने, असान्दर्भीक लाग्ने एउटा पात्र पनि थियो । फाटेको, टालेको, झुत्रो, झाम्रो कपडा लगाएको, त्यो व्यक्ति निरिह देखिन्थ्यो, अत्यन्तै निरिह, अपमानबोधले झुकेका आखाँहरु, लज्जाबोधले झुकेको शिर । स्थिति अत्यन्तै दयनीय थियो । तर वरिपरिका तथाकथित ठूला मानिसहरु त झुमिरहेका थिए, उनीहरुको आखाँ चम्किरहेका थिए, आज ठूलै उपलब्धी हुन्छ भन्दै ।
उसको आज लिलाम हुने रे । उसका अंग–प्रत्यगंहरुको मोलमलाई हुने रे आज । खसीबोकाका अंगहरु काटिएर बेचिए जस्तै, उसको शरिर पनि बेचिने छ आज यहाँ । सर्वप्रथम उसको हातबाट लिलाम सुरु हुन्छ । उसका कर्मशिल हातहरु, उसको परिवार पाल्ने हातहरु, देशलाई विकास गर्न सक्ने हातहरु, पहिला बढाबढमा पर्छन् । मोल लगाईदै गईन्छ त्यसको । उसका हातहरु किन्न तम्सिएका छन् अरु हातहरु, फेटा बाधेकाँ, युवाहरु जस्ता देखिने जमातले, सायद कठपुतली पो हुन् कि पर्दा पछाडिबाट अरुले चलाएजस्तो । त्यस निरिह व्यक्तिको हात त्यो जमातले लिई छाड्छ । भयो लिलाम उसको हात । 
अब उसको खुट्टाको पालो । पहिलाको जमातको प्रतिद्वन्दी जस्तो देखिने त्यो जमातलाई जसरी पनि ती खुट्टाहरु किन्नु थियो, नाक राख्न भए पनि, रथीहरु बराबर बनाउन भए पनि । ती खुट्टाहरु जसले यस धर्तीलाई स्पर्श गरी उर्वर बनाउन उद्धत हुन्छन्, ती खुट्टाहरु जो सगरमाथा चढ्ने दुस्साहस गर्न सक्छन्, ती खुट्टाहरु जो देश विकास गर्न होस्टेमा हैसे गर्न सक्छन्, तर बिडम्बना आज तिनै खुट्टाहरु लिलाममा छन् । त्यो जमात खुट्टा किनी छाड्छ, साम, दाम, दण्ड, भेद, कृपा सबै प्रयोग गरेर । 
अब पालो आयो दिमागको । दिमाग किन्न तम्सन्नन् त्यो युवा जमातको पर्दा पछाडिका खेलाडिहरु, तम्सन्नन् तलबाट माथि उडेका समुहहरु । तम्सिन्छन् त सुकिला टाई सुटमा सजिएका वल्लो–पल्लो वा परको घरका जस्ता देखिनेहरु । उनीहरु त तछाँड–मछाँड नै गर्छन् त्यसलाई हत्याउन, पैसा दिएर होस् या प्रलोभन देखाएर होस् या सुबिधा देखाएर होस् या धम्क्याएर होस् या अरु कुनै नै गुलाममय उपाय अपनाएर होस् । किनी छाड्छ कुनै नामधारी तथाकथित मित्रले । अरु त सायद कौवा हुन् र दिमाग बेल । 
अब पालो आयो गिदीविहिन टाउकोको । त्यो किन्न छिमेकीहरु त्यति नै अनिच्छुक देखिए जति त्यो किन्न ईच्छुक थिए अघिको युवा जमातको पिठ्युँ थपथपाईरहेका जमात, त्यो जमात जसले आफ्नो उत्पत्ति र यात्राको कथा नै बिर्सेका थिए । तिनीहरुलाई त्यो गिदीविहिन टाउको त्यस्तै गिदीविहिन टाउकोको भीडमा थप्नु थियो, आफ्नो भीड विशाल देखाउँन । त्यो पनि कुनै नामको लेबल मात्र लगाएको जमातले किन्यो । 
अब बाँकि रह्यो घाँटी देखी कम्मर सम्मको भाग, अर्थात पेटधारी भाग । तर अचम्मको कुरा अघि सम्म प्रत्येक अंग–प्रत्यगं किन्न तछाँड–मछाँड गर्ने कुनै पनि जमात त्यो पेट पर्ने भाग किन्न तयार भएन । न्युनतम भन्दा पनि न्युनतम मुल्यमा पनि कोही किन्न तयार भएनन् । उल्टो बरु म दिन्छु मेरो पेट लिऊ  भनी कराईरहेको त्यो “मान्छे”को आवाज कतै क्षितिजमा विलिन भईरहेको थियो । तर अहँ कसैले किनेन त्यो पेट, सबै लाखापाखा भए, तर किनेनन् त्यो पेट । अन्त्यमा बाँकि रहेकोे त्यो पेट, त्यो भोको पेट, त्यो रित्तो पेट, त्यो मुल पेट जसले अरु पेटलाई ढाकेको थियो ...................................................अहँ किनिएन्.........................................................


      एस.के.किरन
      २०६६÷०२÷१५