a FAITH, fading but still deepening.........

सुची.........

केही हाइकू             स्रष्टा : नदिश

विरालो भन्छ
मान्छेले बाटो काट्यो 
साइत बिग्य्रो 
……………
धेरै देखियो 
क्रान्तिकारी नाटक 
क्यासिनोभित्र 
……………
अमूर्त कला 
किन्नेहरु बुझ्दैनन् 
बुझ्ने किन्दैनन् 
……………
उत्कृष्ट स्रष्टा
आफै बुझ्दैन किन
आफ्नै सिर्जना 
……………
दर्केको पानी 
ठूलो रुखको आड
लच्केको हाँगा 
……………
हर्षित छन् 
कोफिन र क्याफिन 
कलेज छेउ
……………
जल्दो कोइला 
अति राम्रो देखियो 
तर डढायो 
……………
आधुनिकता 
एड्सले ग्रसित छन् 
कण्डमहरु 







हामीसँगै छ हाम्रो इतिहास                   स्रष्टा : नदिश

तिमी भारतमा लुम्बिनी बनाऊ
खोज कोही सुद्धोधन र मायादेवी 
गरिदेऊ विवाह
जन्मेला कुनै सन्तान
या त गराइदेऊ कृत्रिम गर्भाधान
जन्माइदेऊ कुनै पुत्र 
र गरिदेऊ नामाकरण 'गौतम बुद्ध'
हामीलाई कुनै गुनासो छैन
बरु उल्टै सुनाइदिउँला विश्वलाई 
हालसालै एउटा अर्को गौतम बुद्ध 
भारतमा पनि जन्मिएको छ 

तिमी चीनमा सोलुखुम्बु बनाऊ
बनाऊ एउटा राष्ट्रिय निकुन्ज 
अनि ठड्याऊ एउटा अग्लो पहाड
छरिदेऊ त्यसमाथि कृत्रिम हिउँ 
र चुनिदेऊ कुनै नाम
चोमोलोङ्गमा, माउन्ट एभरेष्ट या सगरमाथा 
हामीलाई कुनै चिन्ता छैन 
बरु उल्टै भनिदिउँला दुनियाँलाई 
हालसालै एउटा अर्को सगरमाथा 
चीनमा पनि ठडिएको छ 

तिमी निस्फिक्र जन्माऊ तिम्रो गौतम बुद्ध 
तिमी निश्चिन्त ठड्याऊ तिम्रो हिमाल
हामी गर्दैनौँ कुनै प्रतिकार 
हामीलाई राम्रोसँग थाहा छ 
हामीसँगै छ हाम्रो आफ्नो सगरमाथा
हामीसँगै छ हाम्रो आफ्नो लुम्बिनी
हामीसँगै छ हाम्रो आफ्नो इतिहास


सूचना !          सूचना !!                सूचना !!


अर्जुन ज्ञवाली

सम्पूर्ण गाउं नगरवासी दिदीबहिनी , दाजुभाइहरुलाई अत्यन्त जरुरी सूचना १ 
तपाईंहरुलाई थाहै छ, 
आवधिक निर्वाचन संसदीय प्रजातन्त्रको गुण हो
प्रजातन्त्रमा अवधि अवधिमा निर्वाचन हुन्छ
निर्वाचनमा मतदान हुन्छ,
तपार्इंहरु मतदान गर्नुहुन्छ । 

तपांईहरु मतदान गर्नुहुन्छ र 
कसैलाइ चुनेर माथि पठाउनुहुन्छ
कतिलाइ पठाउनु भयो
कतिलाइ पठाउंदै हुनुहुन्छ
कतिलाइ पठाउनु हुनेछ ।


मतदान चान्नेचुन्ने दान होइन,
मतदान महादान हो
कन्यादान जस्तै महादान हो
निःस्वार्थ दान हो
सम्पूर्ण दान हो

तपांई कन्यादान गरेर छोरी दिनुहुन्छ
कसलाई दिनुहुन्छ ?
कुनै कुमारलाइ दिनुहुन्छ र 
ज्वाइं बनाउनुहुन्छ ।
दिनुहुन्छ,
लिनुहुन्न ।
कन्यादान निःस्वार्थ दान भएको हुनाले
कुनै फलको आशा गर्नुहुन्न
त्यसै कारण,
निःस्वार्थ दिनुहुन्छ
लिनुहुन्न । 
कति उदार १

त्यस्तै,
तपार्इं मतदान गर्नुहुन्छ
आफ्नो मतदान गरेर कसैलाई दिनुहुन्छ
कुनै मनुवालाई दिनुहुन्छ
कुनै मनुवीलाइ दिनुहुन्छ
अनि ,
तिनीहरु चुनिन्छन् ।
पार्टी विशेषमा चुनिन्छन्
प्रतिनिधि सभामा चुनिन्छन् 
राष्ट्रिय सभामा चुनिन्छन्
जिल्ला ,अञ्चल सभामा चुनिन्छन्
राष्ट्रपति हुन्छन्
सभापति हुन्छन्
अध्यक्ष हुन्छन्
सभामुख हुन्छन्
सदस्य हुन्छन्
माननीय सांसद् हुन्छन्
माननीय मन्त्री हुन्छन्
सम्माननीय प्रधानमन्त्री हुन्छन् ।


मतदान कन्यादान जस्तो महादान हो भनेपछि
तपाईंहरुले मतदान गरेर चुनेको मनुवा
तपांर्इंको ज्वाइं हो
ज्वाइ स्वत ः माननीय हो
तसर्थ
तपार्इं त्यसलाई स्वत ः  
मान गर्नुहुन्छ
ज्वाइं मनग्य माया लाग्ने जन्तु हो 
तसर्थ
तपार्इं त्यसलाई मनग्य माया गर्नुहुन्छ 

ठीक छ,
      ज्वाइंलाई मनग्य मान गर्नुहोस्
ज्वाइंलाई मनग्य माया गर्नुहोस्

दानको महिमा बुझेर
निःस्वार्थ कन्यादान जस्तो
निःस्वार्थ मतदान गरेर बनाएका
राष्ट्रपति– सति
सभापति–सति
अध्यक्ष–सध्यक्ष
सभामुख–सभामुख 
सांसद–सांसद्
मन्त्री–सन्त्री
प्रधानमन्त्री–सन्त्री
जस्ता सम्पूर्ण मनुवा ज्वाइंहरुबाट 
कुनै फलको आशा गर्नु पर्दैन ।


भ्रमवश आस गर्नुभयो भने
ठूलो पाप–कुण्डमा पर्नुहुनेछ
निःस्वार्थ दान दिएर बनाएका ज्वाइंहरुलाई 
मात्र प्रेम गर्नु पर्दछ
ज्वाइंले ज्वाइं बनाउनेलाई कुनै प्रेम गर्नु पर्दैन
किन भने 
ज्वाइंले ज्वांइ बनाउनेलाई प्रेम गर्नु पर्ने कानून हामीकंहा बनेको छैन ।

युगल प्रेम होइन  
सिर्फ एकल प्रेम

यो तत्वज्ञानले लेस भएर बस्नुभयो भने
दाने राष्ट्रपतिले 
दाने सभापतिले 
दाने अध्यक्षले 
दाने सभामुखले
दाने सांसद्ले
दाने मन्त्रीले
दाने प्रधानमन्त्रीले
अर्थात् 
ती ज्वाइंका मनुवाहरुले, 
ती ज्वाइं स्वाइंहरुले,
ती ज्वाइं स्वाइंका मनुवाहरु पनि कुनै आमाका सन्तान हुन् , तिनले 
जन्म दिने आमालाईनै बिर्से भने पनि 
दूध चुसाउने आमालाईनै भुले भने पनि
ताते ताते गराउने वाउलाईनै भुले भने पनि
जाउलो फलाउने खेतबारीलाई नै भुले भने पनि
अक्षर चिनाउने पाठशालालाई नै भुले भने पनि
पौडी खेल्ने खोलालाई भुले भने पनि
खेल खेल्ने चउरलाई भुले भने पनि
सम्पूर्ण खेत खलिहानलाई भुले भने पनि 
तपांईहरु जस्ता महान दानबीरहरुलाई नै बिर्सेर राजधानी तिरै गूंड बनाएर बसे भने पनि आफ्नो जन्मे हुर्केको ठाउंमा पाइलै हालेनन् भने पनि
फुटेका आंखाले हेरेनन् भने पनि 
हिरिक्कै माया लाएर 
तपार्इं उसकै नयां गूंडमा 
भेट गर्न जानु भयो तर 
एउटा भेट सम्म पाउनु भएन भने पनि
कुनै फिक्कर हुने छैन
कुनै गुनासो हुने छैन


मानहानि नहोस् ,
ग्राम्य दोष नलागोस्, 
निःस्वार्थ कन्यादान जस्तै निःस्वार्थ मतदान गरेर तपांईहरुले 
चुनिपठाएका मनुवाहरु 
मृत्यु संस्कारमा डामेर छोडेका सांडा सांडी हुन् । 

मृत्यु संस्कारमा डामेर छाडेका सांडेले खेतबारी जोत्न हुंदैन ।
जोते अशुभ हुन्छ । 
त्यस्तै डामेर छोडेको सांडीको गंहुत पनि चल्दैन
सिर्फ ती छाडा सांडा सांडी हुन् ।
याद गर्नुहोस् , 
आफूले मतदान गरी चुनिपठाएका ज्वांइ मनुवाहरुलाई यसरी बुझेका खण्डमा कुनै फिक्कर हुने छैन । 

दिदीबहिनी दाजुभाइहरु
सूचना, सूचना, सूचना भनी यो सार्वजनिक सूचना जारी गरी आफ्ना दाने ज्वाइंहरुका सम्बन्धमा कुनै भ्रममा नपर्नु हुन सावधान गर्ने काम गरिएको छ ।
तपांईहरुलाई चेतना भया ।