a FAITH, fading but still deepening.........

ईच्छा


म शब्दविहिन भएर लेख्न चाहन्छु । पूर्णरुपमा निशब्द, शाब्दिक शुन्यता । त्यतिखेर मलाई शब्द अभाव हुदाँको जस्तो पीडा हुनेछैन्, शब्द नभेटाउँदा बल गरी गरी, कनी कनी शब्द खोज्नुपर्ने बाध्यता पनि हुनेछैन्, शब्द चयन, सिर्जना वा सामुहिकरण गर्दाको प्रसव पीडा पनि हुनेछैन् । किन कि मलाई आशा छ र सायद विश्वास पनि, निशब्द हुदाँ, शब्द विहिन हुदाँ, मेरा सबै कुराहरु समेटिने छन् । शब्दको परिधि भित्र रहेर व्यक्त हुन नसकेका भावहरु छचल्किएर बाहिर पोखिनेछन्, सायद म सन्तुष्ट नै पो हुनेछु कि । 
मैले व्यक्त गर्नेछु , मेरो परपिडक बानी शाब्दिक परिधिले निर्माण गरेको, हुनसक्छ शब्दले नै सिर्जना गरेको । म पोख्नेछु त्यो पीडा जो मेरो मनमा खील बनेर टन्किरहेको छ, प्रत्येक पटक मलाई घात गर्दै । म व्यक्त गर्नेछु ती भावनाका अञ्जुलीहरु जो थुप्रिएर  ठोसिकृत हुदोँछन् । सायद म व्यक्त गर्न सक्नेछु ती तीरहरुको बारेमा जुन मेरो मस्तिष्कमा मनको बाटो भएर पुगेका थिए, मलाई घायल गर्दै । सायद अभिव्यक्तित पो हुनेछन् कि ती कुण्ठीत भावनाहरु , ती अतृप्त ईच्छाहरु जसले शब्द माध्यम बनाउन खोजिरहेका थिए मबाट मुक्तिको लागि तर अभाव थियो शब्दको या आँटको । स्पर्श पनि हुनसक्छ अर्को भाडँभैलोसँग मेरो मनको भाडँभैलोमा कतै हराएका, कतै लुकेका मेरा क्रन्दनहरु, बिष्फोटक रुप धारण गर्दै । 
यसरी म आफै तरलीकृत भई छताछुल्ल हुनेछु, सबैको अगाडि खोलिनेछु, खुला पुस्तक भएर, तब मलाई आशा छ बुझ्नेछन् मलाई नबुझेकाहरु वा अरुलाई बुझ्नुहुदैन् भन्नेहरु, तीर चलाउन छाड्नेछन् अभ्यस्तहरुले छियाःछिया भएको ममा, बाध्य पार्ने छैनन् मलाई अपूरो यो शब्द प्रयोग गर्न । मलाई आशा छ .......................... निशब्द................शाब्दिक शुन्यता ..................शब्दविहिनता....................... अनि सायद सबै महाशुन्यता ......................

 
         एस. के. किरन
            २०६६÷०२÷२२